नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ। शपथ समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। यसअघि रामचन्द्र पौडेल ले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने उक्त समारोहमा ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
नेपालको संविधानको धारा ९९ र ९१ (उपधारा ५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको छ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटोसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
कार्यक्रमस्थलमा सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन, महासचिव र सचिवालयका पदाधिकारीका लागि आवश्यक संरचना तयार गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपा (माओवादी केन्द्र)ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्।
प्रतिक्रिया दिनुहोस्