पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोग (कार्की आयोग)को प्रतिवेदनबारे प्रतिक्रिया जनाएका छन्।
प्रतिवेदन अध्ययनपछि भट्टराईले तत्कालीन सरकारले गम्भीर गल्ती गरेको औँल्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ। टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ।”
उनका अनुसार २४ गतेको अवस्था झन् गम्भीर रहेको उल्लेख गर्दै उनले राज्यका सबै अङ्गहरू नै कोल्याप्स भएको प्रस्ट देखिएको बताएका छन्।
भट्टराईले प्रतिवेदनमा युथ अगेन्स्ट क्रप्सन, युवा हब र हामी नेपालजस्ता समूहहरूले २२ गतेदेखि नै डिस्कोर्डमार्फत आन्दोलनको तयारी गरेको विवरण समेटिएको बताएका छन्। साथै, यस प्रकरणमा सुधन गुरुङको भूमिकालाई पनि प्रतिवेदनले महत्त्वका साथ उल्लेख गरेको उनले जनाएका छन्।
देश र जनताको हितका लागि उक्त प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने कि विगतकै त्रुटि दोहोर्याउने भन्ने जिम्मेवारी अब बन्ने रास्वपा सरकारको काँधमा रहेको भट्टराईको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्