नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदनप्रति कडा असहमति जनाएका छन्। उनले आयोग निष्पक्ष छानबिनका लागि गठन नभएको धारणा प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले लेखेका छन्, “कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। कार्की आयोग र आमनिर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ।”
उनका अनुसार सोही प्रभावका आधारमा निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्। उनले निर्वाचन र प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उल्लेख गरेका छन्।
पोखरेलले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रण हुँदै नयाँ शक्तिको उदय भएको टिप्पणी गरेका छन्। “अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,” उनले भनेका छन्।
यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्न दिनु उपयुक्त हुने उनको धारणा छ।
तर उनले स्पष्ट पारेका छन् कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा न त समस्याको समाधान हो, न त विचारधारात्मक राजनीतिको विकल्प नै।
प्रतिक्रिया दिनुहोस्