भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियालीले ढाकिएको पहाडको काखैभरि सर्पझैँ बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गरेको छ।
भोजपुर नगरपालिका–१२ मा पर्ने करिब १३ किलोमिटर लामो यो सडक उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको हो। यसले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै स्थानीय जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ। पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि दैनिक जीवन सहज बनेको स्थानीयको अनुभव छ।
यो सडकले भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ भने यसको प्रमुख आकर्षण नै नागबेली आकृति हो। माथिबाट हेर्दा लामो सर्पजस्तै देखिने घुमाउरो बनावटले फोटोग्राफी र भिडियो खिच्न रुचाउनेहरूका लागि यो स्थान लोकप्रिय बन्दै गएको छ। सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ आउने पर्यटकको संख्या पनि बढ्दो छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाले यात्रालाई झनै रमणीय बनाउँछ। बिहानको कुहिरो र साँझको सुनौलो घामले सडकलाई अझ आकर्षक बनाउने भएकाले पर्यटकहरू समय मिलाएर दृश्यावलोकन गर्न पुग्ने गरेका छन्।
सडक सञ्चालनमा आएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ। आलु, मकै, अदुवा र फलफूलजस्ता कृषिउपज ढुवानीमा सुविधा पुगेपछि किसानहरूलाई प्रत्यक्ष लाभ मिलेको छ भने व्यापार–व्यवसाय पनि विस्तार हुँदै गएको छ।
स्थानीयका अनुसार सडक छेउमा विश्रामस्थल, भ्यू प्वाइन्ट र सूचना बोर्ड निर्माण गरिएमा पर्यटकलाई थप सहजता हुने देखिन्छ। आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकेमा भोजपुर–बेहेरे सडक केवल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्