ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण भ्यान’ सेवा शुभारम्भ गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले उक्त सेवा उद्घाटन गरेका हुन्।
वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन ल्याइएको यो भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाही थप सशक्त बनाइने बताइएको छ।
अभियानअन्तर्गत वातावरण प्रहरीले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिक जलाउन रोक्ने तथा अत्यधिक धुवाँ फाल्ने सवारी साधन र उद्योगहरूको निगरानी गर्नेछन्।
यसका साथै जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने र रुखबिरुवा क्षति पुर्याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।
नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्