Ads

३६ वर्षसम्म प्रहरीको हात बाँधियो, अब ‘ठूला माछा’ जालमा


भ्रष्टाचार तथा अनियमितताविरुद्ध कडा र आक्रामक कदम चालिरहेका गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षसम्म प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको गम्भीर आरोप लगाएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो संकेत दिएका हुन्।

गुरुङले फेसबुकमा लेखेका छन्, “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइदिएको रहेछ।” उनको यो अभिव्यक्तिले लामो समयदेखि राज्य संयन्त्रभित्रैबाट अनुसन्धान प्रक्रियामा अवरोध गरिएको संकेत गरेको रूपमा बुझिएको छ।

पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइलहरू खोल्न थालेको छ। उच्च राजनीतिक र आर्थिक पहुँच भएका व्यक्तिहरूमाथि समेत धमाधम कारबाही अघि बढिरहेको छ। यसैक्रममा, गृहमन्त्री बनेकै रात केही उच्चस्तरीय व्यक्तिहरू पक्राउ परेपछि देशको राजनीतिक वृत्त नै तरंगित बनेको थियो।

सरकारको यो कदमलाई धेरैले “ठूला माछामाथिको पहिलो प्रहार”का रूपमा लिएका छन्। वर्षौँदेखि दबाइएका काण्डहरू फेरि सतहमा आउन थालेपछि जनस्तरमा पनि आशा र चासो बढेको छ।

यसअघि ठूला भ्रष्टाचार प्रकरणमा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न नदिइएको गुनासो व्यापक रूपमा उठ्ने गरेको थियो। तर अहिलेको अवस्थाले त्यो ‘अदृश्य बन्देज’ तोडिँदै गएको संकेत मिलेको विश्लेषकहरूको भनाइ छ।

गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिले स्पष्ट सन्देश दिएको छ—अब भ्रष्टाचारका फाइलहरू बन्द दराजमा होइन, अदालतको ढोकासम्म पुग्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू