राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा जेष्ठ सदस्य अर्जुन नरसिंह केसी ले अर्याललाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।
बैठक सुरु हुनासाथ सभामुखमा अर्यालको एकमात्र उम्मेदवारी परेको जानकारी दिँदै प्रस्तावक रवि लामिछाने लाई बोल्न समय दिइएको थियो। त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे र सर्वसम्मत चयनका लागि अन्य दलको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
प्रस्तावको समर्थन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतम लगायतले अर्याल योग्य र अनुभवी पात्र भएको बताएका थिए। वाग्लेले अर्यालले यसअघि सांसद र मन्त्रीको रूपमा काम गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले अर्यालको राजनीतिक यात्रा मध्यमवर्गीय संघर्षसँग जोडिएको बताउँदै तटस्थता कायम राख्दै जिम्मेवारी सम्हाल्ने अपेक्षा व्यक्त गरे।
त्यस्तै, गौतमले अबको संसद् बहसमा मात्र सीमित नभई जनउत्तरदायी र परिणाममुखी हुनुपर्नेमा जोड दिइन्।
बैठकले अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने निर्णय गर्दै आजका लागि कार्यवाही स्थगित गरेको छ।
प्रतिक्रिया दिनुहोस्