आजदेखि देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार लागू भएको नयाँ कार्यतालिकाले कार्यालय समय एक घण्टा अघि सारिएको हो। यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम थियो।
जाडोयाम (कात्तिक १६ देखि माघ १५) मा भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन बिदा दिने तथा कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो। उक्त निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।
यो अभ्यास भने नयाँ होइन। यसअघि २०७९ साल जेठ १ गते शेर बहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो।
प्रतिक्रिया दिनुहोस्