नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रोल्पा र लुम्बिनी प्रदेशका चालु तथा नयाँ विकास आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाउन सुझाव दिएका छन्।
सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग भएको छलफलमा पुनले विशेष रूपमा भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन र अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग कूटनीतिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले दाङ–रोल्पा–रुकुम–डोल्पा जोड्ने शहीद मार्ग निर्माणमा गति दिन, घोराही–होलेरी खण्ड र रोल्पा सुलीचौर–उवासम्म स्तरोन्नति गर्ने बजेट सुनिश्चित गर्न माग गरेका छन्।
यसैगरी, पुनले रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत् आयोजना, गण्डकी आर्थिक त्रिभुज परियोजना तथा लुम्बिनी प्रदेशमा सिँचाइ, कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत कृषि विकास परियोजना अघि बढाउन पनि आग्रह गरेका छन्।
पुनले सबै १६५ निर्वाचन क्षेत्रका विकासका लागि सांसदको सिफारिस अनुसार समानुपातिक आयोजना छुट्याउनुपर्नेमा पनि जोड दिएका छन्। उनले भने, “यी परियोजना अघि बढाइए मुलुकको समग्र अर्थतन्त्रमै ‘गेम चेन्जर’को भूमिका खेल्न सकिन्छ।”
प्रतिक्रिया दिनुहोस्