Ads

उपसभामुखमा साझा उम्मेदवारको खोजी तीव्र, विपक्षी दलहरूबीच गहिरो छलफल


प्रतिनिधिसभाको उपसभामुख पदका लागि साझा उम्मेदवार तय गर्ने प्रयास तीव्र बनेको छ। विपक्षी दलहरूबीच एकीकृत उम्मेदवारी दिने उद्देश्यसहित निरन्तर छलफल भइरहेको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका नेताहरूबीच यस विषयमा वार्ता जारी रहेको छ। एमालेका सांसद गुरु बरालका अनुसार बिहीबार बिहान पनि नेताहरूबीच फोनमार्फत संवाद भएको थियो। उनले साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक प्रगति भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताएका छन्।

बरालका अनुसार करिब एक घण्टाभित्रै साझा धारणा सार्वजनिक गर्ने तयारी भइरहेको छ। तर प्रतिनिधिसभामा करिब दुईतिहाइ बहुमतसहित रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

रास्वपाबाट सभामुख चयन भइसकेकाले उपसभामुख पद अर्को दललाई दिने सम्भावना देखिएको छ। साथै, सभामुख पुरुष भएकाले उपसभामुख महिला हुने लगभग निश्चित छ। उपसभामुख चयनमा रास्वपाको समर्थन निर्णायक रहनेछ।

यसैबीच, उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। संघीय संसद् सचिवालयले सो समयसीमा निर्धारण गरेको हो।

उपसभामुखको निर्वाचन भने शुक्रबार (चैत २७) अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ। बैठकमा प्रस्तावकले उम्मेदवारलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्, जसपछि छलफल गरी निर्णय गरिनेछ।

Ads

सम्बन्धित पोष्टहरू