नेकपा (एमाले)का केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टीका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले बादल ‘फस्टम्यान’को भूमिका निर्वाह गर्न नसक्ने निष्कर्षमा पुगेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत विस्तृत टिप्पणी सार्वजनिक गर्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र सचिवालयका नेताहरूलाई कार्यवाहक नेतृत्वको जिम्मेवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। उनका अनुसार बादललाई दिइएको जिम्मेवारीबारे बेलैमा सोच्नु आवश्यक छ।
भट्टराईले बादलले हालै पोखरामा आयोजित जिल्ला कमिटीको भेलामा व्यक्त गरेका धारणा, भाषा र शैली एमालेको नीति तथा सिद्धान्तविपरीत रहेको बताएका छन्। उनले ‘कब्जा’, ‘आक्रमण’ र ‘दुश्मन’ जस्ता शब्दावली एमालेको राजनीतिक संस्कारसँग मेल नखाने उल्लेख गरेका छन्।
उनका अनुसार एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने पार्टी हो, जसले प्रतिस्पर्धा र शान्तिपूर्ण संघर्षमार्फत जनताको मन जित्ने नीति लिएको छ। “हामी कब्जा होइन, जनताको विश्वास जितेर अघि बढ्छौं,” भट्टराईको भनाइ छ।
भट्टराईले बादलको अभिव्यक्तिमा ‘युद्धकालीन भाषा, शैली र चिन्तन’ झल्किएको टिप्पणी गर्दै वर्तमान राजनीतिक सन्दर्भअनुसार पार्टीको अवस्था र कार्यकर्तालाई परिचालन गर्ने रणनीति बुझ्न नसकेको आरोप लगाएका छन्।
व्यक्तिगत रूपमा बादललाई सैद्धान्तिक चेत भएका, संयमित र भद्र नेताका रूपमा लिने गरेको उल्लेख गर्दै उनले पछिल्लो अभिव्यक्तिपछि आफू निराश भएको बताएका छन्।
“पार्टीको अहिलेको जटिल अवस्थामा नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका व्यक्तिबाट यस्तो प्रस्तुति आउनु दुःखद हो,” भट्टराईले लेखेका छन्, “उहाँले न पार्टीको अवस्था बुझ्नुभएको छ, न आवश्यक दृष्टिकोण प्रस्तुत गर्न सक्नुभएको छ।”
अन्त्यमा उनले कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी दिने नेतृत्व तहलाई समयमै निर्णय गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्