राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बनेको सरकारले जनताको भावना अनुसार जनकल्याणकारी कानुन निर्माण गर्ने र त्यसको प्रभावकारी तथा परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने,
“पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना यही थियो। संसद्ले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ। निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु सरकारको दायित्व हो र म यसमा विश्वस्त छु।”
राष्ट्रपतिले न्यायपालिकाको महत्वमा पनि जोड दिँदै भने कि छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र शहीदहरूको योगदानको वास्तविक सम्मान सुनिश्चित गर्न सकिन्छ।
“न्यायपालिकाबाट छिटो र निष्पक्ष न्याय प्रदान भएमा, परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूको साँचो अर्थमा सम्मान हुने छ,” उनले भने।
राष्ट्रपति पौडेलको यो सम्बोधनले नयाँ सरकारले कानुन निर्माण र कार्यान्वयनमा जनताको आकांक्षा अनुसार काम गर्नुपर्ने र न्याय प्रणालीको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने स्पष्ट संदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस्