नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा आज शल्यक्रियाबाट निकालिने भएको छ।
उपचारमा संलग्न चिकित्सकले शल्यक्रियाको मिति पहिले नै तोकेको र पूर्वतयारी अनुसार ओलीलाई अपरेशन थिएटरमा लगिएको जानकारी दिइएको छ।
ओलीलाई चैत १४ गते गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था देखाउँदै उनी त्यही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। गिरफ्तारीसँगै उनकी पत्नी राधिका ओलीले सर्वोच्च अदालतमा गैरकानुनी हिरासतको बन्दी प्रत्यक्षीकरण निवेदन पनि दर्ता गराएकी थिइन्।
सर्वोच्च अदालतले २३ चैतमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते उनी थुनामुक्त भए पनि, स्वास्थ्य कारणले शल्यक्रिया आवश्यक भएकाले अस्पतालमै राखिएको थियो।
चिकित्सकले शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुने आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्