अमेरिकाको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा शनिबार आयोजित ‘व्हाइट हाउस संवाददाता संघ’को डिनर कार्यक्रममा संदिग्ध बन्दुकधारी देखिएको खबरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सीक्रेट सर्भिसले तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति ट्रम्प र उनका मन्त्रिपरिषद्का सदस्यहरू सुरक्षित रहेका छन्। बन्दुकधारीले कार्यक्रम स्थलभन्दा बाहिर गोली चलाएको दाबी गरिएको छ।
घटनापछि केही समयका लागि कार्यक्रम स्थगित भएको थियो। एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प अहिले सुरक्षित स्थानमा छन् र पुनः कार्यक्रममा फर्किने इच्छा व्यक्त गरेका छन्।
प्रत्यक्षदर्शी पत्रकारहरूका अनुसार घटनाका क्रममा सीक्रेट सर्भिसका एजेन्टहरूले ‘गोली चल्यो!’ भन्दै चिच्याएका थिए। त्यसलगत्तै एक एजेन्टले रेडियोमार्फत संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका थिए।
अमेरिकी अधिवक्ता जनानी पिरोले गोली चलेको आवाज सुनेपछि आफूलाई डिनर हलबाट बाहिर निकालिएको बताएकी छन्। हाल होटल परिसरको सुरक्षा जिम्मा सीक्रेट सर्भिसले लिएको छ।
घटनास्थलमा वासिङ्टन डीसीकी मेयर मुरियल बउसर र महानगरीय प्रहरी विभागका कार्यवाहक प्रमुख जेफ्री कार्लोले निरीक्षण गरेका छन्।
उक्त घटना त्यही होटलमा भएको हो, जहाँ सन् १९८१ मार्च ३० मा राष्ट्रपति रोनाल्ड रेगनमाथि जोहन हिनक्ली जुनियरले गोली चलाएका थिए। उक्त आक्रमणमा रेगन गम्भीर घाइते भएका थिए।
कार्यक्रम केही समयमै पुनः सुरु हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्