Ads

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन


धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै आएको घुम्ती गोठमा भैँसीपालन यसपालि अन्त्य गरेका छन्। अठार वर्षको उमेरदेखि जङ्गलमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका उनी बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण घरमै बस्न थालेका हुन्।

पूर्णबहादुरले सुनाए, “भारतीय गोर्खा सैनिकमा भर्ती हुने अवसर पाए पनि अभिभावकको आग्रहले भैँसीपाल्ने पेसा रोजेको थिएँ। उमेर बढ्दै गएपछि गोठ बस्न नसक्ने भएपछि भैँसी बेचेर घरमै बस्न थालेको छु।”

उनी भन्छन् कि भैँसी, राँगा र घ्यू बेचेर आफ्ना एक छोरा र तीन छोरीलाई हुर्काए, उच्च शिक्षा दिलाए, घरव्यवहार चलाए र गाउँमै खेतबारी जोडे। उनले थपे, “एउटा भैँसीबाट सुरु गरेको घुम्ती गोठमा भैँसी ३६ वटासम्म पुगेको थियो।”

धवलागिरि–४ बगरका ८० वर्षीय कीर्तबहादुर घर्तीमगरले पनि ६४ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरेका थिए। स्वास्थ्य समस्या देखिएपछि उनी १० वर्षदेखि भैँसीपालन छाडेका छन्। कीर्तबहादुरले सम्झाए, “मेरो बाल्यकालमा गाईभैँसीको गोठ नहुने घरै हुँदैनथ्यो। अहिले रहेका केही गोठ पनि वृद्धहरूले छाडेपछि हराउने अवस्थामा छन्।”

खाम्ला, खारा, बगर, जेल्तुङ, नाउरा, चौरवन, कुनावन, मचनी, दवदवे, मैरेवन, भैँसीखर्क, जिरवाङलगायत चरन क्षेत्रहरूमा भैँसी घुम्ती गोठ लगाउने चलन थियो। पोषिलो घाँस पाइने भएकाले पाँच हजार मिटर उचाइका बुकीमा भैँसी चराउन पठाइन्थ्यो।

वार्षिक रूपमा २० वटाको हाराहारीमा भैँसी पाल्दा १०–१५ वटासम्म राँगाभैँसी र २०० लिटर हाराहारीमा घ्यू बिक्री हुने गरेको थियो। तर, यस क्षेत्रका लिमे र पारकोटे जातका भैँसीका आनुवंशिक स्रोत घुम्ती गोठसँगै हराउने खतरा बढेको छ।

धवलागिरि गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार वडा नं ४ मा हाल ४३६ वटा भैँसी रहेको छ। पूर्णखोप कार्यक्रमअनुसार भैँसीको संख्या घट्दो क्रममा रहेको र परम्परागत किसानहरूले फार्म दर्ता र पशु बीमा नगरेका कारण अनुदान कार्यक्रममा सहभागी हुन समस्या भइरहेको उनले बताए।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले घुम्ती गोठलाई आधुनिक र व्यवस्थित बनाउन किसानसँग छलफल गरी आवश्यक कार्यक्रम बनाइरहेको बताए। उनले थपे कि त्रिपाल र सोलार सामग्री उपलब्ध गराएर घुम्ती गोठलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएमा रोजगारी सृजना र आयआर्जन बढ्ने सम्भावना रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू