नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय तामेलीमा राखेको छ।
खड्काले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई नमान्ने र छुट्टै गतिविधि सञ्चालन गरेको आरोपमा बैशाख २ गते उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, सर्वोच्च अदालतले बैशाख ४ गते कांग्रेसको आधिकारिकता गगनपक्षलाई दिएको निर्णयपछि खड्काको विषयलाई हाल स्थगित गर्ने निर्णय समितिले गरेको छ।
यस्तै, पूर्वराज्यमन्त्री एवं रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बित भएका छन्। उनले गगन थापासँग करोडौं रुपैयाँको सम्बन्ध रहेको भनी दिएको अभिव्यक्ति प्रारम्भिक रुपमा सन्तोषजनक नदेखिएपछि अनुशासन समितिले उनलाई जिल्ला सभापतिको जिम्मेवारीबाट हटाइराख्ने निर्णय गरेको हो।
त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित विभिन्न उजुरीहरुको छानबिन सम्पन्न भइसकेको र दोष लागेका व्यक्तिहरूबाट ७ दिनभित्र स्पष्टिकरण लिने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ। पार्टीले स्पष्टिकरणका लागि WhatsApp, ईमेल, हुलाक, कुरियर लगायत छिटो माध्यम प्रयोग गर्ने निर्णय समेत गरेको छ।
कांग्रेसका अनुशासन समितिका संयोजक तारामान गुरुङले प्रेस विज्ञप्तिमार्फत निर्णयहरु सार्वजनिक गर्दै पार्टीभित्र अनुशासन कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिक्रिया दिनुहोस्