हर्क साम्पाङले नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेको छ ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री प्रत्यक्ष रूपमा संसद्मा उपस्थित भएर सांसदहरूको धारणा सुन्नु र उठेका प्रश्नको जवाफ दिनु आवश्यक रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री छलफलका क्रममा अनुपस्थित रहेकोप्रति असन्तुष्टि जनाउँदै उत्तर दिने क्रममा भने अनिवार्य रूपमा उपस्थित हुने विश्वास व्यक्त गरे ।
“म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर छलफल सुन्नुभएन । तर, उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” उनले भने ।
Harka Sampang ले प्रधानमन्त्री उपस्थित नभए आफ्नो दलले संसद् बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिए ।
“यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौँ । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ,” उनले भने ।
सरकारप्रति कटाक्ष गर्दै उनले “काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन” भन्दै जनप्रतिनिधिले उठाएका विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्