Ads

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, आर्थिक अनुशासन कायम गर्न आग्रह


रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा तोयम राया ले राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए। उनले बेरुजु फछ्र्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशामा सार्वजनिक निकायका पदाधिकारी अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले फजुल खर्च नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, प्रतिवेदनले औँल्याएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालालाई थप जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा पनि उनले राखे।

बेरुजु न्यूनीकरण, आर्थिक पारदर्शिता र संस्थागत सुशासन कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भविष्यमा पनि कार्यालयले संस्थागत क्षमता अभिवृद्धि, पेसागत दक्षता र आन्तरिक सुशासन सुदृढ गर्न थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

Ads

सम्बन्धित पोष्टहरू