कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सर्वोच्च अदालत प्रशासनबाट असहयोग र अवरोध भएको गुनासो गरेकी छन्।
नेपाल बार एसोसिएसन का पदाधिकारीसँगको भेटमा उनले सर्वोच्च प्रशासनकै कारण न्यायिक प्रक्रिया प्रभावित भएको बताएकी हुन्। बारका एक पदाधिकारीका अनुसार मल्लले यस्तो अवस्था ‘एक हिसाबले कूजस्तै’ भएको टिप्पणी गरेकी थिइन्।
“शाही आयोगमा पनि प्रशासनको यस्तो अवरोध थिएन,” मल्लको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, “सर्वोच्च प्रशासनकै कारण यो अवस्था सिर्जना भयो। मैले आदेश गरेँ, तर पनि रिट दर्ता भएको छैन। यस्तो प्रशासनिक अवरोधबीच काम कसरी गर्ने ?”
सोमबार कामु प्रधानन्यायाधीश मल्लले केही रिट तथा निवेदन लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारका लागि पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्। तर, उनको आदेशपछि पनि सम्बन्धित रिट दर्ता नभएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रार दुवै कार्यालय बाहिरिएका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।
दरपिठविरुद्धको निवेदन दर्ता प्रक्रियाका लागि सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रारको अनुमति अनिवार्य हुने व्यवस्था रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्