संविधान संशोधन बहसपत्र कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट राय–सुझाव मागेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार सूचना जारी गर्दै एक साताभित्र सुझाव पठाउन आग्रह गरेको हो ।
कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित लिखित सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ । सार्वजनिक सूचनामा नेपालको संविधानमा गर्नुपर्ने सुधार तथा संशोधनका विषयमा सात दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।
सुझाव इमेल तथा ह्वाट्सएपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । कार्यदलले [email protected] र [email protected] इमेल ठेगानामा सुझाव पठाउन आग्रह गरेको छ । यस्तै, ह्वाट्सएपमार्फत सुझाव पठाउन ९८५६०२९९४७ नम्बर उपलब्ध गराइएको छ ।
संविधान संशोधनका विषयमा बहस तथा सुझाव संकलन गर्न संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत संसदबाहिर रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा का एक–एक प्रतिनिधि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्