आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला मा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनको विशाल अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए । शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२ तथा मिलिन्द कुमारले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ५९ रनको आक्रामक अर्धशतकीय पारी खेलेका थिए । कप्तान रोहित पौडेलले ४६ तथा आशिफ शेखले ४३ रनको योगदान दिएका थिए ।
यो जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण दुई अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्