राष्ट्रिय मानवअधिकार आयोग ले जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै त्यसको कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ।
आयोगले गत २३ र २४ भदौ २०८२ मा भएको जेन–जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो।
आयोगका अनुसार, २०८३ जेठ १२ गते बसेको बैठकले प्रतिवेदनका आधारमा निर्णय तथा सिफारिस गर्दै कार्यान्वयनका लागि सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई पत्राचार गरेको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गत २३ र २४ भदौ २०८२ को जेन–जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका सम्बन्धमा आयोगको २०८३/२/१२ गतेको बैठकले निर्णय/सिफारिस गरी कार्यान्वयनका लागि सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ।”
यसअघि घटनाको अनुसन्धानका लागि आयोगले विशेष समिति गठन गरेको थियो। उक्त समितिले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन आयोगसमक्ष बुझाएको थियो। आयोगले प्रतिवेदनका आधारमा आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्