नेपाली कांग्रेस ले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ।
कांग्रेसले बिहीबार वक्तव्य जारी गर्दै जाँचबुझ आयोग का अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा तयार गरिएको प्रतिवेदनलाई ‘अधुरो, अपूर्ण र अस्पष्ट’ भन्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले त्यसलाई अझ पुष्टि गरेको जनाएको हो।
पार्टीले मानवअधिकार आयोगको प्रतिवेदनमा जाँचबुझ आयोगकै अध्यक्षमाथि समेत प्रश्न उठाइएको उल्लेख गर्दै कार्की आयोगको प्रतिवेदन निष्पक्ष नरहेको आशंका थप बलियो बनेको दाबी गरेको छ। साथै उक्त प्रतिवेदन आम निर्वाचनअघि सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आरोप पनि कांग्रेसले लगाएको छ।
कांग्रेसका अनुसार मानवअधिकार आयोगको प्रतिवेदनले आन्दोलनको प्रारम्भिक चरण अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागमा केन्द्रित रहेको देखाएको छ। तर पछि आन्दोलनका नाममा योजनाबद्ध हिंसा, आगजनी, तोडफोड, लुटपाट तथा हत्या जस्ता घटना भएको र त्यसमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान तथा कारबाही आवश्यक रहेको उल्लेख गरिएको जनाएको छ।
त्यसैगरी राज्य संयन्त्रको असफलता तथा सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि आयोगले मानवअधिकार उल्लंघनका रूपमा व्याख्या गरेको भन्दै कांग्रेसले संवैधानिक तथा कानुनी दायराभित्र रहेर कारबाही गर्न माग गरेको छ।
कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएकाले उसका सिफारिस कार्यान्वयन गर्नु राज्यका निकायहरूको दायित्व भएको समेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस्