Ads

गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो, उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ। गणतन्त्र दिवस-२०८३ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले यो व्यवस्था कुनै व्यक्ति वा दलको मात्र नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट पार्नुभएको छ।

संयोजक प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको चेतावनी दिनुभएको छ।

शुभकामना सन्देशमा नेता दाहालले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूलाई सच्याउनुपर्नेमा जोड दिनुभएको छ। राज्य सञ्चालन प्रक्रियामा कायम रहेका परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको मुख्य आवश्यकता भएको उहाँको भनाइ छ।

“जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो,” उहाँले भन्नुभएको छ, “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो।”
देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता हुनुपर्नेमा दाहालले जोड दिनुभएको छ। सामाजिक न्यायसहितको समृद्धिमार्फत ‘समाजवादी नेपाल’ निर्माण गर्नु नै अहिलेको साझा राष्ट्रिय संकल्प हुनुपर्ने उहाँको धारणा छ।

संसदीय परिपाटीमा राजनीतिक मतभेद र संख्यात्मक अंकगणित फरक हुनु स्वाभाविक भए तापनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य गर्ने संस्कार बसाल्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नु सबैको पहिलो जिम्मेवारी भएको स्मरण गराउँदै संयोजक दाहालले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने खेलप्रति सजग रहन आग्रह गर्नुभएको छ। उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन हार्दिक आह्वान समेत गर्नुभएको छ।

Ads

सम्बन्धित पोष्टहरू