नेपालमा ई-स्पोर्ट्स र ब्लकचेन प्रविधिको संयोजनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ब्लकचेन ई-स्पोर्टस् च्याम्पियनसिप नेपाल संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
मेटास्पेसद्वारा सञ्चालित तथा मोर्फिन ल्याब्सले वेब-३ नेपालसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगिता शुक्रबार चितवनमा सम्पन्न भएको हो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १०० भन्दा बढी गेमरहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताले प्रतिस्पर्धात्मक गेमिङसँगै ब्लकचेन प्रविधि र वेब-३ इकोसिस्टमका सम्भावनाबारे सहभागीहरूलाई जानकारी गराउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। नेपालमा विस्तार हुँदै गएको डिजिटल नवप्रवर्तन र गेमिङ संस्कृतिलाई थप ऊर्जा दिने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ।
रोमाञ्चक प्रतिस्पर्धामा काठमाडौंका सुमित थापा च्याम्पियन बने। उनले उपाधिसँगै दुबईमा आयोजना हुने ब्लकचेन ई-स्पोर्ट्स च्याम्पियनसिप ग्रान्ड फिनालेमा सहभागी हुने अवसर प्राप्त गरेका छन्। सुमितको सम्पूर्ण दुबई भ्रमण खर्च आयोजकले व्यहोर्नेछ। ग्रान्ड फिनालेमा उनले विभिन्न देशका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले नेपाली गेमरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने ढोका खोलिदिएको छ। साथै, गेमिङ उद्योगमा ब्लकचेन र वेब-३ प्रविधिको बढ्दो प्रयोगबारे युवापुस्तामा जागरण ल्याउन पनि कार्यक्रम प्रभावकारी बनेको विश्वास गरिएको छ।
प्रतियोगिताको सफल आयोजनापछि आयोजकले सहभागी,साझेदार संस्था तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेको छ । आयोजकका अनुसार यो प्रतियोगिता नेपालको ई-स्पोर्ट्स क्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा स्थापित भएको छ।
ब्लकचेन ई-स्पोर्ट्स च्याम्पियनसिप नेपाल संस्करणको सफल समापनसँगै नेपाल विश्वव्यापी ब्लकचेन गेमिङ र ई-स्पोर्ट्स नक्सामा थप सशक्त रूपमा उभिन थालेको संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्