Ads

प्रधानमन्त्रीको अभिव्यक्तिले तीन करोड नेपालीको शिर झुक्यो : निश्कल राई


नेपाली कांग्रेसका सचेतक निश्कल राई ले प्रधानमन्त्री वालेन्द्र शाह को नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको भनाइले तीन करोड नेपालीको शिर निहुरिएको दाबी गरे। उनले प्रधानमन्त्रीले संसद्मा ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको र त्यसमा सत्ता पक्षका सांसदहरूले ताली बजाएको विषयप्रति पनि आपत्ति जनाए।

‘संसद्मा प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ,’ राईले भने, ‘नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? त्यसको स्पष्ट जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।’

उनले एक देशले अर्को देशको भूमि अतिक्रमण गरेको विषयलाई ‘क्रस बोर्डर अकुपेसन’ को संज्ञा दिन नमिल्ने जिकिर गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई चरम गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे। सस्तो लोकप्रियताका लागि राष्ट्रिय हितसँग खेलवाड गर्न नहुने उनको भनाइ थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिबाट के पुष्टि गर्न खोजिएको हो भन्ने प्रश्न उठाउँदै राईले राष्ट्रियतामाथि प्रहार भएको ठहर कांग्रेसले गरेको बताए। उनले उक्त अभिव्यक्ति नसच्याएसम्म संसद्को कामकारबाहीमा सहकार्य गर्न नसकिने चेतावनीसमेत दिए।

राईले प्रधानमन्त्रीको भनाइलाई ‘इतिहासकै लज्जाजनक अभिव्यक्ति’ को संज्ञा दिँदै यस विषयलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको आरोप लगाए। साथै, डीपी अर्याल ले समेत यस विषयमा मौनता अपनाएको भन्दै त्यसलाई गम्भीर समस्या भएको बताए।

Ads

सम्बन्धित पोष्टहरू