Ads

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति खतरनाक छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्ति खतरनाक, निन्दनीय र घोर आपत्तिजनक भएको बताएका छन्।

पार्टी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा बोल्दै थापाले सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको नेपाली कांग्रेसले पूर्ण रूपमा विरोध गर्ने बताए।

उनले सीमा विवादका विषयमा नेपालको स्थापित अडान, तथ्य र प्रमाण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक अवस्था कमजोर बनाएको दाबी गरे।

“सीमा विवादजस्तो संवेदनशील विषयमा नेपालको स्पष्ट र स्थापित अडान छ। प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ र कूटनीतिक समाधानको आधारसमेत क्षीण बनाएको छ,” थापाले भने।

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए अझ खतरनाक हुने टिप्पणी गर्दै उनले दुवै अवस्था गम्भीर रहेको बताए।

थापाले नागरिक तहमा हुने दसगजा क्षेत्रको विवाद र राष्ट्रबीचको सीमा अतिक्रमणको विषयलाई तुलना गर्न नमिल्ने उल्लेख गरे। उनले प्रधानमन्त्रीले बेलायतसँग यस विषयमा कुरा गर्ने अभिव्यक्ति दिएको प्रसंग पनि उठाउँदै त्यसले नेपालसँग पर्याप्त तथ्य र प्रमाण नभएको गलत सन्देश गएको बताए।

प्रधानमन्त्रीको टिप्पणीलाई ‘राष्ट्रिय लज्जाको विषय’ भन्दै थापाले त्यसले नेपालको अखण्डता र जनमतको अवमूल्यन गरेको आरोप लगाए। राष्ट्रहितविपरीतको यस्तो अभिव्यक्ति अरू कसैले सच्याएर नहुने भन्दै उनले प्रधानमन्त्री स्वयं संसद्को रोस्ट्रममा उभिएर माफी माग्नुपर्ने धारणा राखे।

साथै, प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्ता पक्षका सांसदहरूले किन ताली बजाए भन्ने प्रश्न पनि नागरिकले उठाउनुपर्ने थापाको भनाइ थियो। उनले प्रधानमन्त्रीले संसद्मा गएर आफ्नो भनाइबारे स्पष्ट पार्दै आवश्यक परे माफी माग्नुपर्ने बताए।

Ads

सम्बन्धित पोष्टहरू