नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ।
मंगलबार सम्पन्न एसियन गेम्स छनोट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत मलेसियाले चीनलाई पराजित गरेपछि नेपालले पनि एसियन गेम्समा स्थान सुरक्षित गरेको हो।
सात टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने तथा सेमिफाइनल प्रवेश गर्ने चारवटै टोलीले एसियन गेम्समा सहभागिता जनाउने प्रावधान रहेको छ।
नेपाल रहेको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक–एक खेल जित्नेबित्तिकै शीर्ष दुई स्थान सुनिश्चित भएको हो।
नेपालले आइतबार चीनलाई पराजित गर्दै महत्वपूर्ण जित निकालेको थियो। अब नेपाल र मलेसियाबीच बिहीबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।
यता, नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित भएपछि एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ।
नेपालको पुरुष टोलीको यो सफलता नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्