Ads

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री


काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएका छन् ।

आज यहाँ आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए ।

“एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन् रु किन कथा सुनाइरहन्छन् रु किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो”, उनले भने।

यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए ।

“सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ तर एकअर्कालाई पहिलेभन्दा धेरै बुझ्न सकेका छैनौँ । यही कारण साहित्य अपरिहार्य बन्छ । साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ”, उनले भने ।

उहाँले कविता, उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेका बताए ।

आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताउनुभयो ।

मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उहाँले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । “हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्”, उनले भने ।

आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताए ।

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उनले सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको सुनाए । कविताले तथ्याङ्क, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्ने उनको भनाइ थियो ।

नेपाली साहित्यिक परम्पराबारे चर्चा गर्दै उनले आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेका बताए । वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेका उनले बताए ।

विभिन्न साहित्यिक मेला तथा जमघटको महत्त्वबारे चर्चा गर्दै उहाँले यस्ता मञ्चहरूले विचारलाई सीमापार र विश्वभर स्वतन्त्र रूपमा यात्रा गर्न सहयोग गर्ने बताए । उनले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री तिमिल्सिनाले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जतिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि महत्त्वपूर्ण भूमिका हुने बताए ।

“सरकारले पूर्वाधार निर्माण गर्न सक्छ । संस्थाले प्रणाली बनाउन सक्छ । अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्”, उनले भने ।साहित्यिक मेलाहरूले सार्थक संवाद, सिर्जनात्मक सहकार्य तथा सर्जकहरूबीच अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण थलोका रूपमा भूमिका निर्वाह गरिरहेका उनको कथन थियो ।

Ads

सम्बन्धित पोष्टहरू