Ads

कुशलको लगातार दोस्रो शतक, नेपालद्वारा मलेसियासामु २७६ रनको विशाल लक्ष्य


सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओपनर कुशल भुर्तेलको विस्फोटक शतकप्रेरित नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको हो।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १२६ रनको शानदार इनिङ खेले। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो। यसअघि उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए। लगातार दुई टी–२० अन्तर्राष्ट्रिय शतक बनाउने उनी पहिलो नेपाली खेलाडी तथा विश्व क्रिकेटका १०औँ खेलाडी बनेका छन्।

कुशललाई ओपनिङमा आसिफ शेखले उत्कृष्ट साथ दिए। आसिफले मात्र २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए। पहिलो विकेटका लागि कुशल र आसिफले १३४ रनको आक्रामक साझेदारी गरे।

त्यसपछि दीपेन्द्रसिंह ऐरीले ३१ रनको योगदान दिँदा कुशलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। सन्दीप जोराले १५ तथा लोकेश बमले १० रन जोडे।

मलेसियाका लागि वीरनदीप सिंहले ३ विकेट लिए भने विजय उन्नी र कप्तान सयद अजिजले समान २/२ विकेट हात पारे।

समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने यस खेलमा विजयी टोली समूह विजेता बन्नेछ भने पराजित टोली उपविजेतामा सीमित हुनेछ। नेपाल र मलेसिया दुवैले यसअघि चीनलाई पराजित गर्दै एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्। नेपालले चीनलाई २२१ रनले हराएको थियो भने मलेसिया ९ विकेटले विजयी भएको थियो।

नेपाल र मलेसियाबीच हालसम्म १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले ९ खेल जितेको छ भने मलेसियाले एक खेलमा मात्र सफलता हासिल गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू