नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) भारतको औपचारिक भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल दिउँसो २ः३० बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा नयाँ दिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कनेछन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धका पारस्परिक हितका विविध विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ।
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा सहयोग तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श हुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक, ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्