चीनबाट एकैपटक ठूलो संख्यामा पर्यटक नेपाल आएका छन् । हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आइपुगेका हुन्।
एक साताको नेपाल भ्रमणका लागि आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पान्डा टुर्स एन्ड ट्राभल्स’ले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोसाक तथा बाजागाजासहित भव्य स्वागत गरेको थियो।
नेपाल भ्रमणका क्रममा चिनियाँ पर्यटकहरूले देशका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
काठमाडौं–शेन्जेन सिधा हवाई सेवामार्फत चिनियाँ पर्यटकको आगमन बढ्दै गएको पर्यटन व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय चीनबाट आउने पर्यटकको संख्या बढ्न थालेसँगै नेपालको पर्यटन क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्