Ads

काठमाडौँमा उबरको औपचारिक इन्ट्री, एसिया-प्रशान्त क्षेत्रमा नेपाल ११औँ बजार


विश्वकै चर्चित र अग्रणी राइड–हेलिङ कम्पनी उबर (Uber) ले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालमा सेवा सञ्चालनमा आएको र देशलाई आफ्नो विश्वव्यापी सञ्जालमा जोडेको घोषणा गरेको हो।

उबरको यो प्रवेशसँगै नेपाल एशिया–प्रशान्त क्षेत्रको ११औँ बजार बनेको छ भने दक्षिण एशियामा पछिल्लो एक दशकयता कम्पनीले विस्तार गरेको पहिलो नयाँ बजारका रूपमा समेत स्थापित भएको छ। कम्पनीले नेपाली यात्रुहरूको सहजताका लागि चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘बाइक’ सेवा उपलब्ध गराएको छ, जसले यात्रुलाई सहज, भरपर्दो र सुरक्षित यातायात सुविधा प्रदान गर्ने दाबी गरिएको छ। हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको उबरले नेपालका स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुलाई एउटै मोबाइल एपमार्फत यात्रा सेवा लिन सकिने व्यवस्था गरेको छ।

उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपालमा भइरहेको तीव्र शहरीकरण, डिजिटल पहुँचको विस्तार तथा पर्यटन क्षेत्रको वृद्धिका कारण यो उबरका लागि महत्वपूर्ण बजार बनेको बताएका छन्। उनले नेपालको गतिशील अर्थतन्त्र र बढ्दो पर्यटन गतिविधिसँग सहकार्य गर्दै यात्रु, चालक तथा आगन्तुकको आवश्यकता पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

कम्पनीका अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै जानु, पर्यटन क्षेत्रको विस्तार हुनु तथा सहज यातायात सेवाप्रतिको माग वृद्धि हुनु आधुनिक राइड–हेलिङ सेवाका लागि सकारात्मक संकेत हुन्, जसका आधारमा स्थानीय आवश्यकताअनुसार सेवा विस्तार गर्दै दीर्घकालीन रूपमा नेपालमा उपस्थित रहने लक्ष्य कम्पनीले लिएको छ। उबर नेपालमा २०७४ साउन १ गते नै दर्ता भएको भए पनि कम्पनीले हाल आएर मात्रै औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो, जसका कारण नेपाली राइड–हेलिङ बजारमा अब प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू