तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह लाई बुझाएको छ। निर्धारित म्याद जेठ १८ गते सकिएपछि थप पाँच दिनको समय लिएर समितिले शुक्रबार प्रतिवेदन पेश गरेको हो।
उच्च स्रोतका अनुसार समितिले गुरुङलाई आरोपबाट उन्मुक्ति दिने अर्थात् ‘क्लिन चिट’ दिने निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। गुरुङमाथि अकुत सम्पत्ति जोडेको, सम्पत्तिको स्रोत स्पष्ट गर्न नसकेको तथा विवादित व्यवसायी दीपक भट्ट सँग साझेदारीमा लगानी गरेको आरोप सार्वजनिक भएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
सरकारले वैशाख २८ गते उक्त विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।
समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको हो। गुरुङको राजीनामापछि रिक्त रहेको गृह मन्त्रालय हाल प्रधानमन्त्री शाह स्वयंले सम्हालिरहेका छन्।
स्रोतका अनुसार छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने तयारी थालेका छन्। यद्यपि यसबारे औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस्