Ads

राजनीतिक गतिरोध अन्त्य गर्न रविले बोलाए सर्वदलीय बैठक


संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

भारत भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग छलफल गरेका लामिछानेले सोमबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा संसदको अवरोध हटाउने, समसामयिक राजनीतिक विषय तथा दलहरूबीच सहमतिको वातावरण निर्माण गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका शीर्ष नेताहरू भने सहभागी छैनन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे तथा नेकपाका तर्फबाट माधव नेपाल सहभागी भएका छन्। बैठकको सुरुवातमा लामिछानेले आङदेम्बे र नेपाललाई दायाँबायाँ राखेर छलफल अघि बढाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण विपक्षी दलहरूले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएका छन्। विशेषगरी नेपाल–भारत सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको भनाइप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीले भारतले नेपालको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले संसदमा स्पष्ट जवाफ मागिरहेका छन्। यद्यपि, परराष्ट्र मन्त्रालयले यस विषयमा विज्ञप्ति जारी गर्दै दशगजा क्षेत्रमा खेतीपातीका क्रममा सीमाक्षेत्र अतिक्रमण भएको जनाएको थियो।

विपक्षी दलहरूले भने मन्त्रालयको स्पष्टीकरण पर्याप्त नभएको भन्दै प्रधानमन्त्री स्वयंले संसदमा जवाफ दिनुपर्ने अडान कायम राखेका छन्। यही विषयका कारण संसदको नियमित कामकारबाही प्रभावित हुँदै आएको छ।

Ads

सम्बन्धित पोष्टहरू