मन्त्रालयमै डेरा सरे मन्त्री पुन, ‘मेरो सम्पत्ति यही हो’ भन्दै लिए ४–५ ब्याग र एउटा कार्टुन
खबर पोष्ट जेष्ठ २७, २०८३
नवनियुक्त महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाएका छन्। सरकारले मन्त्री आवासको व्यवस्था गर्न नसकेको अवस्थामा पुन आफ्ना बन्दोबस्तीका सामानसहित बुधबार सिंहदरबारस्थित मन्त्रालयमै बस्न सरेका हुन्।
भैसेपाटीस्थित मन्त्री क्वार्टरहरू जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि हाल नयाँ मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था हुन सकेको छैन। काठमाडौंमा घर भएका मन्त्रीहरू आफ्नै निवासबाट मन्त्रालय आवतजावत गरिरहेका छन् भने अन्यले निजी रूपमा बसोबासको व्यवस्था मिलाएका छन्।
मन्त्री पुनले पदबहालीपछि नै सरकारले क्वार्टर उपलब्ध नगराए मन्त्रालयमै बस्ने बताएका थिए। उक्त अभिव्यक्तिलाई व्यवहारमा उतार्दै उनी आज बिहान ४–५ वटा ब्याग र एउटा कार्टुनसहित मन्त्रालय पुगेका हुन्। आफ्नो सम्पत्ति यत्ति नै रहेको भन्दै उनले सरल जीवनशैलीको सन्देश दिएका छन्।
मन्त्रालयमा डेरा सर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पुनले भावुक शैलीमा भने, “ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। अब यतै सर्ने भइयो राष्ट्रिय आविष्कार केन्द्रबाट। मेरो सम्पत्ति यही हो। थेगिनसक्नुको सम्पत्ति छ। लौ आज डेरा सर्ने भइयो। भगवानले जता लैजान्छन् त्यतै जानुपर्ने रहेछ।”
लामो समयदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत नवप्रवर्तन र अनुसन्धानमा सक्रिय पुनको मन्त्रालयमै बस्ने निर्णयले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ। धेरैले यसलाई सादगी र सार्वजनिक सेवाप्रतिको समर्पणको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया दिनुहोस्