Ads

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित थियो : परराष्ट्रमन्त्री खनाल


परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसदमा व्यक्त गरेको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टिकरण दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रको अतिक्रमण तथा सीमावर्ती क्षेत्रमा देखिएका क्रस-बोर्डर अकुपेसनका सन्दर्भमा आएको बताएका हुन्।

‘प्रधानमन्त्रीले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस-बोर्डर अकुपेसनसँग सम्बन्धित छ,’ मन्त्री खनालले भने।

उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरेको जानकारी पनि दिए।

मन्त्री खनालका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी सार्वजनिक गरिसकेको छ। उनले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा यसअघि नै स्पष्ट पारिसकेको बताए।

‘यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ प्राप्त भइसकेको छ,’ उनले भने, ‘दुवै देशले सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।’

Ads

सम्बन्धित पोष्टहरू