फिफा विश्वकपको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित दर्ता गरेको छ । मेक्सिकोमा शुक्रबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै कोरियाले महत्वपूर्ण ३ अंक जोडेको हो ।
खेलको सुरुवाती अग्रता भने चेक रिपब्लिकले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९औँ मिनेटमा गोल गर्दै चेक रिपब्लिकले १–० को अग्रता बनाएको थियो ।
तर, एक गोलले पछि परेको स्थितिमा सम्हालिँदै दक्षिण कोरियाले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलको ६७औँ मिनेटमा कोरियाका लागि ह्वाङ इन बियोमले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि आक्रामक बनेको कोरियाका लागि खेलको ८०औँ मिनेटमा ओह ह्योन ग्युले निर्णायक गोल गरे । बाँकी समयमा चेक रिपब्लिकले बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन र कोरियाले २–१ को जित सुनिश्चित गर्यो ।
यो जितसँगै विश्वकपमा दक्षिण कोरियाले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ भने चेक रिपब्लिकलाई अर्को चरणमा पुग्न बाँकी खेल जित्नैपर्ने दबाब बढेको छ ।
प्रतिक्रिया दिनुहोस्