Ads

ऊर्जा क्षेत्रको नयाँ युग सुरु हुँदैछ, निजी क्षेत्रलाई व्यापार र प्रसारणमा पनि खुला गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल ऊर्जा क्षेत्रको ऐतिहासिक रूपान्तरणको चरणमा प्रवेश गरेको बताउँदै विद्युत उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा समेत निजी क्षेत्रको सहभागिताका लागि सरकारले मार्ग प्रशस्त गरिसकेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाइने स्पष्ट पारे।

इपानले ऊर्जा क्षेत्रमा लगानी गर्दै राष्ट्र निर्माणमा सरकारसँग सहयात्रा गरेको २५ वर्ष पूरा गरी रजत वर्षमा प्रवेश गरेको अवसरमा बधाई दिँदै उनले संस्थाको नयाँ नेतृत्वले विद्युत उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा समेत निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले सुशासन, सेवा प्रवाह र विकासप्रति नागरिकको अपेक्षा उच्च रहेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। सरकारको १०० बुँदे कार्ययोजना र ऊर्जा मन्त्रालयको ३२ बुँदे निर्देशनले ऊर्जा क्षेत्रको स्पष्ट मार्गचित्र तय गरेको उनको भनाइ थियो।

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले अव्यावहारिक तथा लगानी निरुत्साहित गर्ने कानुन संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले चालु संसद अधिवेशनमै जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी भइरहेको बताए।

ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रसँगको साझेदारीलाई थप विस्तार गर्दै उत्पादन, प्रसारण र व्यापारका नयाँ अवसर सिर्जना गरिने बताए।

Ads

सम्बन्धित पोष्टहरू