फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको रोमाञ्चक खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
अस्ट्रेलियालाई जित दिलाउन नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एक–एक गोल गरे ।
खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको अस्ट्रेलियाले २७औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । नेस्टोरी इरानकुन्डाले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए । पहिलो हाफमा एक गोलले पछि परेको टर्कीले दोस्रो हाफमा खेलमा फर्कने कयौँ प्रयास गरे पनि सफल हुन सकेन । खेलको ७५औँ मिनेटमा कोनर मेटाकाल्फले गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए र टोलीको जित सुनिश्चित गरे ।
टर्कीको दुर्भाग्य: ६०% बल पोजिसन र दुई दर्जन अवसर खेर खेलभरि ६० प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखे पनि टर्कीले गोल गर्न सकेन । फिनिसिङ लाइनमा चुकेको टर्कीले खेलका क्रममा दुई दर्जनभन्दा बढी गोलका अवसरहरू सिर्जना गरे पनि अस्ट्रेलियाको बलियो रक्षापङ्क्ति र गोलकिपरलाई भत्काउन सकेन ।
समूह ‘डी’ मा अस्ट्रेलिया दोस्रो स्थानमा यो जितसँगै महत्त्वपूर्ण ३ अंक जोड्दै अस्ट्रेलिया समूह ‘डी’ को दोस्रो स्थानमा उक्लिएको छ । यसै समूहमा रहेको आयोजक अमेरिका पनि ३ अंकसहित गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । पराजित टर्की र खेल खेल्न बाँकी रहेको पाराग्वे अंकविहीन छन् ।
अन्य खेलको नतिजा विश्वकप अन्तर्गत आजै भएका अन्य खेलहरूमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको छ । यस्तै, कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलबीच भएका खेलहरू १–१ गोलको बराबरीमा सकिएका छन् ।
प्रतियोगिता अन्तर्गत आजको अन्तिम खेलमा राति पौने ११ बजे जर्मनी र कुराकाओ आमनेसामने हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्