काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापना गर्ने घोषणा गरेको छ।
आइतबार १९औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापना गरिने जानकारी दिएकी हुन्।
नीति तथा कार्यक्रममार्फत महानगरले नगरभित्रका स्वास्थ्य संस्थामा विपन्न तथा असहाय नागरिकका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने जनाएको छ।
यस्तै, आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने पनि डंगोलले घोषणा गरिन्।
महानगरले स्वास्थ्यसँगै वातावरणीय सुधारलाई पनि प्राथमिकतामा राखेको छ। काठमाडौंको बढ्दो प्रदूषण नियन्त्रण गर्न प्रभावकारी रणनीति अवलम्बन गरिने तथा प्लास्टिकका झोलाको प्रयोग क्रमशः घटाउने नीति लिइने कार्यवाहक मेयर डंगोलले बताइन्।
महानगरको नयाँ नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, वातावरण संरक्षण र नागरिकमैत्री सेवा प्रवाहलाई विशेष जोड दिइएको छ।
प्रतिक्रिया दिनुहोस्