Ads

‘कांग्रेस व्यवहारिक रूपमा फुटिसकेको छ’ : शशांक कोइराला


नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगिसकेको बताएका छन्।

विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयका कारण कांग्रेस आजको अवस्थामा पुगेको दाबी गरे। उनले ती निकायका गलत निर्णयले पार्टीभित्र गम्भीर विभाजन सिर्जना भएको आरोप लगाए।

कोइरालाले अहिलेको परिस्थितिमा कांग्रेसभित्र एकता कायम गर्नु नै सबैभन्दा ठूलो आवश्यकता रहेको उल्लेख गर्दै पार्टी बलियो नभएसम्म देशको विकास र लोकतान्त्रिक प्रणाली सुदृढ हुन नसक्ने बताए।

उनले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र परिवर्तनको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर संघर्ष गर्नुपर्ने धारणा राखे।

पार्टी नेतृत्वतर्फ संकेत गर्दै उनले कांग्रेसजस्तो ठूलो संगठनलाई अनुभवी र पुराना नेताहरूलाई बाहिर राखेर सञ्चालन गर्न नसकिने बताए। वर्तमान सभापति गगन थापा लाई लक्षित गर्दै उनले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कोइरालाले लामो राजनीतिक संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको कांग्रेस अहिले विभाजित अवस्थातर्फ धकेलिनु दुःखद भएको बताए। “यो पार्टी आफैं टुक्रिएको होइन, टुक्र्याइएको हो,” उनले भने, “कांग्रेसलाई पुनः एकताबद्ध र सशक्त बनाउनु आजको प्रमुख चुनौती हो।”

उनको अभिव्यक्तिलाई कांग्रेसभित्र बढ्दो आन्तरिक असन्तुष्टि र एकताको बहससँग जोडेर हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू