कैलालीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिको संयोजकमा प्रदेश वन निर्देशक हेमराज विष्ट रहेका छन्।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य छन्।
मन्त्रालयले अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे आवश्यक छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ।
गत जेठ २९ गते कैलालीको गोदावरी-४ बासपानी निवासी धनादेवी धामीको टेम्पो वन कर्मचारीहरूले भिरबाट खसालेको आरोप लागेको थियो। घटना सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा वन कार्यालयका १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले छानबिन समिति गठन गरेसँगै प्रतिवेदनले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्