Ads

नारायणकाजीको आग्रह– चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गराैँ


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भारतको पछिल्लो नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले भारतीय नीतिका कारण नेपाली चिया उद्योगहरू बन्द हुने अवस्थासम्म पुगेको उल्लेख गरेका छन्। उनले यो संकटले चिया व्यवसायमा आबद्ध किसान, श्रमिक तथा उद्योगी मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने बताएका छन्।

श्रेष्ठका अनुसार चिया नेपालको महत्वपूर्ण निर्यातजन्य वस्तुमध्ये एक भएकाले यसको बजार र उत्पादन प्रणालीमा देखिएको संकटले रोजगारी, विदेशी मुद्रा आर्जन तथा निर्यात व्यापारमा गम्भीर प्रभाव पार्न सक्छ।

उनले सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखेर भारतीय पक्षसँग तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। द्विपक्षीय संवादमार्फत समस्या समाधानको मार्ग खोज्दै नेपाली चिया उद्योगको संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

श्रेष्ठले चिया उद्योगको संकटलाई केवल उद्योग क्षेत्रको समस्या नभई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू