फिफा विश्वकप २०२६ को समूह चरणको दोस्रो खेल सकिँदासम्म साविक विजेता अर्जेन्टिना र पूर्व विजेता जर्मनीसहित ६ टोलीले प्रतियोगिताको नकआउट चरण (राउन्ड अफ ३२) मा आफ्नो स्थान सुरक्षित गरेका छन्। समूह चरणमा एक खेल बाँकी छँदै आयोजक राष्ट्रहरू मेक्सिको र संयुक्त राज्य अमेरिका (USA) सँगै फ्रान्स र नर्वेले पनि लगातार दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ अर्को चरणको यात्रा तय गरेका हुन्। कुल ३२ नकआउट स्थानमध्ये ६ टोलीको टुंगो लागिसकेकाले अब बाँकी २६ स्थानका लागि अन्य टोलीहरूबीचको प्रतिस्पर्धा थप रोचक र रोमाञ्चक मोडमा पुगेको छ।
सह-आयोजक मेक्सिकोले समूह ‘ए’ मा आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० र दोस्रो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको हो। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकको सामना गर्नेछ। त्यस्तै, समूह ‘डी’ मा रहेको अर्को आयोजक टोली अमेरिकाले पनि आफ्नो उत्कृष्ट यात्रा कायम राख्दै पहिलो खेलमा पाराग्वेलाई ४–१ र दोस्रो खेलमा अस्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्यो। अमेरिकाले अब समूह चरणबाट बाहिरिसकेको टर्कीसँग प्रतिस्पर्धा गर्नेछ। यता विगतका दुई विश्वकप (२०१८ र २०२२) मा समूह चरणबाटै बाहिरिएर स्तब्ध बनेको जर्मनीले यसपटक पुराना लय फर्काएको संकेत दिएको छ। समूह ‘ई’ मा रहेको जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ को विशाल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आइभरी कोस्टमाथि २–१ को जित निकाल्दै उपाधि दाबेदारको रूपमा प्रस्तुत भएको छ। जर्मनीले आफ्नो अन्तिम खेल इक्वेडरसँग खेल्नेछ।
विश्वकपको समूह ‘आई’ बाट युरोपेली टोलीहरू फ्रान्स र नर्वे दुवैले एक खेल अगावै नकआउट चरणमा स्थान सुरक्षित गरेर इतिहास रचेका छन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ र दोस्रो खेलमा इराकलाई ३–० ले हराएको थियो भने नर्वेले इराकलाई ४–१ र सेनेगललाई ३–२ को रोमाञ्चक खेलमा पराजित गर्दै २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अब समूह विजेताको टुंगो लगाउन अन्तिम खेलमा फ्रान्स र नर्वे आमनेसामने हुनेछन्। अर्कोतर्फ, लियोनल मेस्सीको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले पनि समूह ‘जे’ मा आफ्नो बलियो उपस्थिति जनाएको छ। अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अस्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गर्यो। उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिनाले अन्तिम समूह खेलमा जोर्डनको सामना गर्नेछ।
प्रतिक्रिया दिनुहोस्