फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले डीआर कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
लगातार दोस्रो जित हात पारेसँगै कोलम्बियाले ६ अंक जोड्दै समूहको शीर्षस्थानमा आफूलाई मजबुत बनाएको हो। कोलम्बियाले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराएको थियो।
यता, डीआर कंगोले प्रतियोगितामा पहिलो हार बेहोरेको छ। दुई खेलबाट १ अंक मात्रै जोडेको कंगो समूहको तेस्रो स्थानमा रहेको छ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै कंगोमाथि दबाब बनाएको थियो। तर उत्कृष्ट गोलकिपिङका कारण कंगोले लामो समयसम्म गोल खानबाट आफूलाई जोगायो।
खेलको ७६औँ मिनेटमा जुआन क्विन्टेरोको उत्कृष्ट पासमा ड्यानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए। अन्ततः त्यही गोल खेलको निर्णायक बन्यो।
कोलम्बियाका स्टार फरवार्ड लुइस डियाजले दोस्रो हाफमा दुईपटक जाली चुमाए पनि दुवै गोल अफसाइडका कारण अमान्य घोषित भए।
पहिलो हाफमा डीआर कंगोका गोलकिपर लियोनल एमपासी उत्कृष्ट लयमा देखिएका थिए। उनले एकपछि अर्को खतरनाक अवसर विफल पार्दै पहिलो ४५ मिनेटमा मात्रै ६ सेभ गरेका थिए। खेलभर उनले कुल ८ बचाउ गरे।
तथ्याङ्कमा पनि कोलम्बियाको पूर्ण दबाब देखिएको थियो। कोलम्बियाले १९ सट प्रहार गर्दा ९ सट लक्ष्यतर्फ थिए भने कंगोले ८ सटमध्ये केवल एक सट मात्रै अन टार्गेट राख्न सक्यो।
अब कोलम्बियाले समूह विजेता बन्न अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्दै पहिलो जित निकालेको थियो। पोर्चुगललाई नकआउट चरणमा पुग्न कोलम्बियाविरुद्धको खेलमा बराबरी नै पर्याप्त हुनेछ।
यता, डीआर कंगोले अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ। उक्त खेल जित्न सके कंगोले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने आशा जीवित राख्नेछ।
प्रतिक्रिया दिनुहोस्