चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्रीदेखि अधिकांश मन्त्री सहभागी भए पनि मन्त्रालयहरूको कामकाज नियमित रूपमा सञ्चालन भइरहेको दाबी गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रीहरू चितवनबाटै भर्चुअल बैठक, निर्देशन र समन्वयमार्फत मन्त्रालयका काममा सक्रिय छन्। एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (आईओएमएस) मार्फत डिजिटल हस्ताक्षर प्रयोग गरेर फाइल सदर तथा निर्णय प्रक्रिया पनि अघि बढिरहेको छ।
महाधिवेशनकै क्रममा मन्त्रीहरूले चितवनका विभिन्न विकास आयोजना र सरकारी संस्थाको निरीक्षणसमेत गरिरहेका छन्। स्वास्थ्यमन्त्री निशा मेहताले बकुलहर रत्ननगर अस्पतालको अवलोकन गरेकी छन् भने कानुनमन्त्री सोबिता गौतमले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग मिलेर प्रस्तावित गोलाघाट पुललगायत आयोजनाको निरीक्षण गरेकी छन्।
यस्तै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले छात्रवृत्ति वितरण गर्नुका साथै देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको अवलोकन गरेकी छन्।
महाधिवेशन लम्बिएसँगै मन्त्रीहरूको चितवन बसाइँ बढे पनि सरकारी काममा असर नपरेको सरकारको दाबी छ।
प्रतिक्रिया दिनुहोस्