विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ।
सरकारी वा तेस्रो पक्षको हस्तक्षेप बढेको भन्दै फिफा काउन्सिलको बैठकले बुधबारदेखि नै लागू हुने गरी फिफा विधानको धारा १४ उल्लंघन गरेको कसुरमा एन्फामाथि यो कडा प्रतिबन्ध लगाएको हो।
यस निलम्बनसँगै नेपालका राष्ट्रिय टोली तथा क्लबहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् भने फिफाबाट प्राप्त हुने सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगसमेत तत्कालका लागि रोक्का भएको छ।
फिफाले प्रतिबन्ध फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा कार्यसमितिलाई ३ महिना निलम्बन गर्ने गरी गरेको निर्णय विनाशर्त फिर्ता गरी कार्यसमिति पुनर्वहाली हुनुपर्ने र बाह्य हस्तक्षेपविना एन्फालाई आफ्नै विधानबमोजिम निर्वाचन प्रक्रिया पूरा गर्न दिनुपर्ने मुख्य दुई सर्तहरू अघि सारेको छ, जुन पूरा नभएसम्म यो अनिश्चितकालीन निलम्बन कायम रहने फिफाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्