काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी ‘झण्डा’ कला महोत्सवले राष्ट्रिय झण्डामार्फत नेपाली पहिचान, संस्कृति र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिरहेको छ।
महोत्सवमा सहभागी मिथिला कलाकार रञ्जना लालले शिव–पार्वती, राम–सीता, हिमाल र नेपाली झण्डालाई समेटेर बनाएको ‘शिव र पार्वती’ शीर्षकको चित्रमार्फत राष्ट्रियता र सांस्कृतिक पहिचानलाई प्रस्तुत गरेकी छन्। उनका अनुसार मिथिला कला नेपाली झण्डाबिना अधुरो हुन्छ।
‘आर्ट बुम’का संस्थापक रत्न शाक्यको परिकल्पनामा आयोजित महोत्सवमा झण्डाको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई विभिन्न शैलीमा चित्रण गरिएको छ। शाक्यले नेपाली झण्डा राष्ट्रिय एकताको सबैभन्दा बलियो प्रतीक भएकाले नयाँ पुस्तालाई यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको बताए।
प्रदर्शनीमा नेपाल तथा विदेशका कलाकारसहित विद्यालय तहका करिब ३०० विद्यार्थीका सिर्जना पनि समावेश छन्। कुल ४८९ चित्रकला राखिएको महोत्सव असार ५ गतेदेखि सञ्चालनमा छ।
प्रतिक्रिया दिनुहोस्