Ads

जनताले हरेक गतिविधि नियालिरहेका छन्, जिम्मेवार बनौं


सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र कार्यशैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरू अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन्।

सङ्घीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि सोमबार काठमाडौंमा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले प्रभावकारी कानुन निर्माणका लागि सांसदहरू अध्ययनशील, प्रविधिमैत्री र संसदीय प्रक्रियामा दक्ष हुनुपर्नेमा जोड दिए।

उनले प्रतिनिधिसभामा धेरै नयाँ सांसदहरू रहेको उल्लेख गर्दै संसदीय विधि, प्रक्रिया र अभ्यासबारे थप जानकारी प्रदान गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए। “संसदीय प्रक्रिया र विधिमा अब्बल बन्न तथा सांसदको भूमिका अझ प्रभावकारी बनाउन यो कार्यक्रम उपयोगी हुने विश्वास लिएको छु,” उनले भने।

सभामुख अर्यालले जनताबाट निर्वाचित भएसँगै सांसदको जीवन निजी दायराबाट सार्वजनिक जिम्मेवारीतर्फ प्रवेश गर्ने भएकाले आचरण, व्यवहार र निर्णयप्रति थप सचेत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सङ्घीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।

सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चालन भइरहेको उक्त कार्यक्रम सोमबारदेखि सुरु भई मंगलबारसम्म चल्ने सचिवालयले जनाएको छ। कार्यक्रममा संसदीय प्रक्रिया, कानुन निर्माण, संसदीय अभ्यास तथा सांसदको भूमिकासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।

Ads

सम्बन्धित पोष्टहरू